सात महिना सिद्धियो तर यो सरकारले वरतिरको सिन्को परतिर सारेनः ओली

दियो पोस्ट  

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले झुट बोलेर जनतालाई झुक्याउने काम गरिरहेको आरोप लगाएका छन् । सात महिनाको अवधिमा सरकारले ‘वरको सिन्को पर पनि नसारेको’ भन्दै ओलीले सरकारका गतिविधिप्रति आक्रोश व्यक्त गरे ।

ओलीले भनेका छन्, ‘सात महिना त सिद्धियो । यो सरकारले के गर्‍यो त ? वरतिरको सिन्को परतिर के सार्‍यो ? केही पनि गरेको छैन राम्रो काम । यसले के गर्‍यो रु ढाँट्छ, छक्याउँछ । मिटरब्याजीहरूको सम्बन्धमा जेठ २४ गते विधेयक पास गर्न दिएनन् भनेर गृहमन्त्री कड्किए । यिनीहरुनै हुन, जसले वैशाख २४ गते पेस गर्नुपर्ने कुरा असार ५ गते पेस गर्छन् संसद्‍मा । के हेरेर बसे रु राष्ट्रिय सभामा असार ५ गते पेस गर्छन, वैशाख २४ गते गर्नुपर्ने त्यो अध्यादेश सम्बन्धी प्रतिस्थापन विधेयक । वैशाख २४ देखि असार ५ सम्म के हेरेर बसे ? अथवा बिल्कुल उदासिन, लापरबाही र यिनीहरु सामन्तको पक्षमा भएका हुनाले यिनीहरुले त्यो गरेका हुन् ।’

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी पार्टीको वाग्मती प्रदेश संगठन कमिटीको सातौं बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यस क्रममा उनले आफ्नो पार्टी २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने मिसनमा लागेको बताएका थिए ।

साथै कांग्रेससँग मिलेर सरकार बनाउने चर्चा भइरहँदा उनले एमाले अहिले सरकारमा सहभागी नहुने बताएका थिए । मिटरब्याज सम्बन्धी कानुन निर्माणको सन्दर्भमा उनले वर्तमान सरकारले नै चासो नदिएको पनि आरोप लगाएका थिए ।

सम्बन्धित खबर