छुट्टाछुट्टै ठाँउबाट अवैध लागूऔषधसहित ७ जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । विभिन्न ठाँउबाट अवैध लागूऔषसहित ७ जना पक्राउ परेका छन् । सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–१२ हरियाली टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ८० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाँउ बस्ने जुम्ला चन्दननाथ नगरपालिका–६ घर भएकी २२ वर्षीया राधिका बुढा रहेकी छिन् । हरियाली टोलमा लागूऔषध कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध नियन्त्रण ब्युरो सुर्खेतबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी धनकुटाको धनकुटा नगरपालिका–१ हिले बजारबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ करिब ६ सय ४० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा छथरजोरपाटी गाउँपालिका–२ गुराशे बस्ने २० वर्षीय मिङमा शेर्पा र धनकुटा नगरपालिका–१ बस्ने २८ वर्षीय रुबिन राई रहेका छन् । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित मंगलबार साँझ पक्राउ गरेको हो ।

साथै मोरङको पथरीशनिश्चरे नगरपालिका–१० पशुपतीनगरमा लागूऔषध स्पास्पेन ३ सय १० चक्की, ट्रामाडोल २ सय चक्कीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हाल सोही ठाँउमा डेरा गरी बस्ने मिग्लाजुङ गाउँपालिका–३ घर भएका २५ वर्षीय दिलीप थापा रहेका छन् । ईलाका प्रहरी कार्यालय पथरीमाबाट खटिएको प्रहरी टोलीले उनकै कोठाबाट उक्त पदार्थसहित मगंलबार साँझ पक्राउ गरेको छ ।

यसैगरी झापाको दमक नगरपालिका–४ चियादोकानस्थित डम्बर ग्यारेजबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–७ बस्ने २९ वर्षीय कुशल राई रहेका छन् । ग्यारेजमा मर्मतको लागि राखिएको को.१ ख ७८१६ नम्बरको गाडीमा लागूऔषध बेचविखन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले गाडीमा सवार उनलाई उक्त लागूऔषधसहित आइतबार दिउँसो पक्राउ गरेको हो । साथै बेचविखनमा संलग्न हाल फरार अन्य १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी झापाकै दमक नगरपालिका–२ घर भई सोही नगरपालिका–८ डेरा गरी बस्ने २७ वर्षीय तिलकराम खवासको कोठाबाट अवैध लागूऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १९ वर्षीय दिपक साह र सोही नगरपालिका–२ बस्ने २२ वर्षीय रेशम गौतम रहेका छन् । ब्राउन सुगर जस्तो देखिने पदार्थ ४ ग्राम, डिजिटल तौल मेसिन १ थान र ९ हजार रुपैयाँसहित मंगलबार राति प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टालीले खवासको कोठा तलासी गर्ने क्रममा बच्चालाई प्रयोग गरिने डाईफरभित्र लुकाई राखेको अवस्थामा उक्त पदार्थसहित उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस