
काठमाडौं । वान एक्स बेट प्रकरणमा पक्राउ परेका कलाकारहरु धरौटीमा रिहा भएका छन् । उनीहरुलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न जिल्लाअदालतले आदेश दिएको छ ।
प्रहरीले गत जेठ ३२ गते वान एक्स सट्टेबाजी प्रकरणको आरोप लगाउँदै ८ जना कलाकारसहित १० जनालाई पक्राउ गरेको थियो ।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले सट्टेबाजी गराउने वेवसाइटको प्रचारमा संलग्न रहेको आरोपमा मरिचमान श्रेष्ठ (बल्छी ध्रुब्रे), राजु पौडेल (राजुमास्टर), पवन खतिवडा(म्याकुरी), बेगम नेपाली(भटभटे माइला), युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर(जलन), गणेश देवकोटा (जिडी) र सरोज घिमिरे(ढेडो बुढो)लाई पक्राउ गरेको थियो ।
विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा १ बमोजिम कसुर गरेको आरोपमा उनीहरुलाई ऐन दफा २५ को उपदफा २ अनुसार सजाय माग गरिएको छ । जसमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
सट्टेबाजी गराउने एजेन्ट दिनेश खड्का र अनिता धिताललाई चाहिँ १० लाख रुपैयाँ धरौटी अदालतले मागेको छ । यो प्रकरणमा संलग्न कुशल पोखरेल फरार छन् ।
जिल्ला सरकारी वकिल कार्यालयले दिनेश खड्का र अनिता धितालले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ को उपदफा १ र २ बमोजिम कसुर गरेको भन्दै ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो मागदाबी गरेको थियो ।
उनीहरु हिरासतबाट आज २७ दिनपछि निस्किएका हुन् । उनीहरुलाई परिवार तथा साथीहरुले खादा लगाएर स्वागत गरेका छन् । बाहिर निस्कँदा सबैजना हँसिलो मुद्रामा देखिएका छन् ।


