छुट्टाछुट्टै ठाँउबाट अवैध लागूऔषतसहित ६ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषधसहित ७ जना पक्राउ परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह गाँउबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ४३ ग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारत रुपैडिहा बस्ने १९ वर्षीय जुनेद राई र १९ वर्षीय सलमान अली रहेका छन् । ईलाका प्रहरी कार्यालय जमुना र लागूऔषध नियन्त्रण ब्युरो नेपालगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ३२ एमपी ६१८९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुलाई उक्त पदार्थसहित बुधबार साँझ पक्राउ गरेको हो ।

यसैगरी पर्साको वीरगंज महानगरपालिका–१६ स्थित सडकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १५ केजी ३ सय १० ग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पटेर्वा सुगौली गाउँपालिका–५ बस्ने ३५ वर्षीय सत्यनारायण माझी र ४० वर्षीय प्रहलाद माझी रहेका छन् । प्रहरी चौकी ईनरुवाबाट र सशस्त्र प्रहरी बल समेतको संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको बीआर २२ एम ४२०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङकीको तल्लो भागमा लुकाई छिपाई राखेको उक्त पदार्थसहित उनीहरुलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

साथै कञ्चनपुरको बेलौरी नगरपालिका–३ खिरीयाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम १ मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय फिलिप राना रहेका छन् । सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र प्रहरी चौकी फटैयाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित रानालाई बुधबार राति पक्राउ गरेको हो ।

यसैगरी म्याग्दीको बेनी नगरपालिका–२ खबराबाट अवैध लागूऔषध गाँजा १ केजी २० ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय सौरभ परियार रहेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा झोलामा लुकाई राखेको उक्त गाँजासहित उनलाई बुधबार साँझ पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस