काठमाडौं । थाइल्याण्ड लाने भनी झुक्याई जबरजस्ती म्यानमार पुर्याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराएको आरोपमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चीनको ज्ञानसु प्रान्त घर भई हाल काठमाडौं महानगरपालिका–१५ बिजेश्वरीमा अस्थायी रुपमा बस्ने ४२ वर्षीय (जोहन्सन) लियाङ जुलाई रहेका छन् ।
दक्षिण पूर्वी एसियाका लाओस, थाइल्याण्ड, म्यान्मार लगायतका देशहरूमा रोजगारीको प्रलोभन देखाई अवैध अनलाइन स्क्यामिङमा लगाई शोषण गर्ने गरेको भन्ने उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार पक्राउ गरेको हो ।
लियाङले पीडितलाई थाईल्याण्डमा कम्प्युटर टाइपिङको काममा लाने भन्दै २०७९ साउन ९ गते म्यान्मार पुर्याई बन्धक बनाएका थिए । अवैध अनलाइन स्क्यामिङमा काम गर्न बाध्य बनाई श्रम शोषण गरी शारीरिक तथा मानसिक यातना दिएको अवस्थामा पीडित नेपाल फिर्ता हुन खोज्दा उनले फिरौती रकम माग गरेकोमा उक्त रकम बुझाएपछि नेपाल फिर्ता भएको प्रहरीले जनाएको छ ।
लियाङ सन् २०१८ देखि नेपाल आउने जाने गर्दै भिजिट, स्टुडेन्ट र बिज्नेस भिसामा नेपालमा बसोवास गरी विभिन्न व्यवसायमा लगानी गरेको, उनी लगायत गिरोहले नेपालबाट रोजगारीमा थाईल्याण्ड लैजाने भनि नेपाली नागरिकहरुलाई म्यान्मार पठाउने गरेको, म्यान्मार पुगेपछि राहदानी र मोबाईल जफत गर्ने, बन्धक बनाउने र सामाजिक सञ्जालमार्फत दिनको १८ देखि २० घण्टासम्म अनलाइनको काममा लगाउने गरेका रहेछन् ।
अनलाइन स्क्यामिङमार्फत विशेषगरी अमेरिकी नागरिकहरुलाई फेक आइडीमार्फत कुराकानी गरी क्रिप्टोकरेन्सी, बिट कोइन लगायतमा लगानी गर्न लगाई ठगी गर्ने गरेको,काम गर्न नसकी फिर्ता हुन्छु भन्नेलाई रकम माग गर्ने गरेका रहेछन् । गिरोहकै मिलोमतोमा थाईल्याण्ड भनि म्यान्मार पठाईएका १० जनालाई जबर्जस्ती अनलाइन स्क्यामिङको काममा लगाउदै आइरहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
घटनमा संलग्न अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै पक्राउ परेका उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।