छुट्टाछुट्टै ठाँउमा अवैध लागूऔषधसहित ६ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ३९ ट्याब्लेटसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बारा कोल्बी नगरपालिका–७ बस्ने १९ वर्षीय सलमान अन्सरी र सोही ठाउँ बस्ने १९ वर्षीय तबरेज अन्सरी रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो र प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले उदयपुर गाइघाटबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.३–००१ ख २५८० नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित बसमा सवार उनीहरूलाई बिहीबार बिहान पक्राउ गरेको हो ।

यसैगरी काठमाडौंकै चन्द्रागिरी नगरपालिका–१३ नैकापबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ १ किलोग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा धादिङ गजुरी गाउँपालिका–८ बस्ने २४ वर्षीय आत्माराम तामाङ र सोही ठाउँ बस्ने ४० वर्षीय गोविन्द तामाङ रहेका छन् । प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनीहरुलाई बिहीबार बिहान पक्राउ गरेको हो ।

साथै बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ टङ्पसरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम २ सय ५० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही
उपमहानगरपालिका–१४ गोसाई पुरुवा बस्ने ३८ वर्षीय राम शाह गिरी रहेका छन् । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित बिहीबार बिहान पक्राउ गरेको हो ।

यसैगरी मोरङको विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध लुपिजेशिक ३ एम्पुल, एभिल ३ एम्पुल, डाईजेपाम ३ एम्पुल र नाईट्राभेट ३० ट्याब्लेटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही जिल्लाको दमक नगरपालिका–५ बस्ने ३० वर्षीय रण बहादुर मगर रहेका छन् ।लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित बिहीबार बिहान पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस