छुट्टाछुट्टै ठाँउमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौं । विभिन्न ठाँउमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । महोत्तरीको गौशाला नगरपालिका–४ रजखोरमा प्रदेश २–०२–००१ त १४९३ नम्बरको ट्याक्टरमा इलेक्ट्रिक साइकल ठक्कर खाई दुर्घटना हुँदा साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–३ ईटाटार बस्ने ७५ वर्षीय साधु साह रहेका छन् । दुर्घटना गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गौशाला महोत्तरीमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी बाँकेको कोहलपुर नगरपालिका–११ मेरिस्टोप्सस्थित भे.७ प ७११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगंज उपमहानगरपालिका–१८ कारकांदो बस्ने ३५ वर्षीय सुबास राई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो ।

साथै रुपन्देहीको रोहीणी गाउँपालिका–४ सेमरहवास्थित सडकमा लु.७३प ८६४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साईकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–४ पकडी बस्ने ६५ वर्षीया चन्द्रिका अहिर रहेकी छिन् । दुर्घटनाबाट गम्भीर घाइते भएकी उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य ३ जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।
सवै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस