काठमाडौं । विभिन्न ठाँउमा लावारिस अवस्थामा शव फेला परेका छन् । मुस्ताङको थासाङ गाउँपालिका–१ कालिगण्डकी नदीको किनारमा शनिबार एक जनाको लावारिस अवस्थामा शव फेला परेको छ । मृत्यु हुनेमा बागलुङ ढोरपाटनन नगरपालिका–५ बस्ने ४५ वर्षीय ओम प्रसाद सिरपाली रहेका छन् ।
यसैगरी झापाको गौरादह नगरपालिका–९ स्थित किस्ने खोलामा लावारिस अवस्थामा एक जना बालकको शव फेला परेको छ । मृत्यु हुनेमा सोही नगरपालिका–२ बस्ने आबुलाल ताजपुरियाको छोरा १३ वर्षीय एन्जल ताजपुरिया रहेका छन् । किस्ने खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौरादह र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा शनिबार उनको शव फेला पारेको हो ।
साथै काभ्रेको रोशी गाउँपालिका– ७ र नमोबुद्ध नगरपालिका–५ को सिमानास्थित रोशी खोलामा शनिबार लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शव रहेको छ ।
यसैगरी रुपन्देहीको कञ्चन गाउँपालिका–४ भैरवघाटस्थित कञ्चन खोलाको नहरको जालीमा लावारिस अवस्थामा शनिबार एक जनाको बालकको शव फेला परेको छ । मृत्यु हुने सोही गाउँपालिका अस्नैया बस्ने किसन शाहीको छोरा ७ वर्षीय लक्ष्मण शाही रहेका छन् ।
साथै धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ कामी टोलको उखुबारी नजिकै लावारिस अवस्थामा शनिबार एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ४० वर्षीय उद्वव बुढाथोकी रहेका छन् ।
यसैगरी स्याङ्जाको चापाकोट नगरपालिका–८ ज्याक्दिघाटस्थित कालिगण्डकी नदी किनारमा आइतबार लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २७ वर्षीय पुरुष रहेका छन् ।
सवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।