छुट्टाछुट्टै ठाँउमा डुबेर ३ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाँउमा डुबेर ३ जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका–४ बेलनपुरस्थित नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैजनाथ गाउँपालिका–३ लधौरा बस्ने २३ वर्षीया लक्ष्मी बस्नेत रहेकी छिन् । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको हो ।

यसैगरी बर्दियाको राजापुर नगरपालिका–१ मनपरिपुरमा नंगापुर कुलोमा डुबेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने हरि रोकायको छोरा ३ वर्षीय विहान रोकाय रहेका छन् । छिमेकीको घरआँगनमा खेल्ने क्रममा कुलोमा डुबेर अशक्त भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको हो ।

साथै झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईखोलामा डुबेर शनिबार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–८ बस्ने ९० वर्षीय टेक बहादुर श्रेष्ठ रहेका छन् ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस