छुट्टाछुट्टै ठाँउमा अवैध लागूऔषसहित १४ जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषधसहित १४ जना पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका–४ गोदावरीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ६० मिलीग्रामसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा कञ्चनपुर बेलडाँडी गाउँपालिका–४ बैबाह बस्ने २० वर्षीया कबिता बस्नेतसहित ३ जना रहेका छन् । ईलाका प्रहरी कार्यालय अत्तरीयाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त पदार्थसहित शनिबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेलबाट अवैध लागूऔषध खैरो हेरोईन १० ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–२ बैयाबेहडी बस्ने बैतडी मेलौली नगरपालिका–२ घर भएका २२ वर्षीय मनोज चन्द रहेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित शनिबार साँझ पक्राउ गरेको हो । साथै डडेल्धुरा अमरगढी नगरपालिका–५ मा नियन्त्रित लागूऔषध स्पास १६ क्याप्सुलसहित एक जना पक्राउ परका छन् । पक्राउ पर्नेमा सोही ठाँउ बस्ने २४ वर्षीय आकाश भट्ट रहेका छन् । उनलाई उक्त पदार्थसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी कैलालीकै धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध ब्राउन सुगर २ ग्राम ३ सय मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उपमहानगरपालिका–४ बस्ने २८ वर्षीय रबि चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त पर्दाथसहित शनिबार साँझ पक्राउ गरेको हो ।

यसैगरी झापाको शिबसताक्षी नगरपालिका–५ स्थितबाट अवैध लागूऔषध गाँजा करिब १ केजी ३ सय ९६ ग्रामसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही नगरपालिका–४ बस्ने ३० वर्षीय दिपक राई, २० वर्षीय जितेन ताजपुरिया र सोही नगरपालिका–५ बस्ने लजमुना खातुन रहेका छन् । ईलाका प्रहरी कार्यालय शिबगंजबाट खटिएको प्रहरी टोलीले थोरै गाँजासहित दिपक र जितेनलाई नियन्त्रणमा लिई सोधपुछ गरेका थिए । सोधपुछ पछि उक्त गाँजा लजमुना खातुनबाट किनेर ल्याएको खुल्न आएपश्चात उनको घर तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजासहित उनीहरुलाई शनिबार साँझ पक्राउ गरेको हो।

यसैगरी झापाको दमक नगरपालिका–३ स्थित बेल्डागी भुटानी शिविरबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने सोही शिविर सेक्टर बी ३ छाप्रा नम्बर २८७ मा बस्ने पाँचथर घर भएका २४ वर्षीय राजु राई रहेका छन् । राईले लागु औषध बिक्री बितरण गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उक्त छाप्रो तलासी गर्ने क्रममा उक्त पदार्थसहित शनिबार राति उनलाई पक्राउ गरेको हो ।

साथै मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङबाट अवैध लागूऔषध गाँजा करिब ६० केजीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा आबुखैरहनी गाउँपालिका–३ बस्ने ३७ वर्षीय दुर्गा दर्जी रहेका छन् । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरी टोलीले बा.प्र०३–००१ च १६८८ नम्बरको गाडीलाई सोही उपमहानगरपालिका–४ कर्रामा जाँच गर्दा उक्त परिमाणको गाँजासहित शनिबार राति उनलाई पक्राउ गरेको हो ।

यसैगरी पर्साको वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सर्लाही हरिवन नगरपालिका–१० बस्ने २८ वर्षीय सगुन थापा र सोही नगरपालिका–९ बस्ने २९ वर्षीय उज्वल जंग थापा रहेका छन् । प्रहरी चौकी ईनार्वा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०२७ प ७३६७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनीहरुलाई शनिबार साँझ पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

सम्बन्धित खबर

सिफारिस