काठमाडौंको फोहोर व्यवस्थापनमा फेरि अवरोध

दियोपोस्ट संवाददाता

काठमाडौं । नुवाकोटको ककनी र धादिङको धुनीबेंसीका बासिन्दाले काठमाडौंको फोहोर व्यवस्थापनमा रोक लगाएका छन् ।

ककनी गाउँपालिका, धुनिबेँसी नगरपालिकाका जनप्रतिनिधि र स्थानीयले काठमाडौंबाट फोहोर बोकेर गएका ५० वटा टिपरलाई स्थानीयको अवरोधका कारण बन्चरेडाँडा र सिसडोलको बीचमा रोकेको काठमाडौं महानगरपालिकाका ल्याण्डफिल्ड साइट इन्चार्ज सरकारदीप श्रेष्ठले जानकारी दिए ।

डम्पिङ साइट आसपासका ढुंगाना गाउँ, पहिरे र सुडीनीलगायतका ठाउँमा फोहोरले बस्न नसकिने अवस्था आएको ककनी गाउँपालिका–३ का वडाअध्यक्ष घननाथ बजगाईँले बताए ।

स्थानीयले सहमतिका नाममा आफूहरुलाई पटक–पटक झुक्याइएको आरोप लगाएका छन् । सरकारले यसअघि गल्ने र नगल्ने फोहोर वर्गीकरण गरेर गल्ने फोहोर मात्र व्यवस्थापन गर्नेलगायतका सहमति ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दासँग गरेको थियो । तर अहिले महानगरले वर्गीकरणविना फोहोर संकलन गर्दै आएको छ ।

नुवाकोटको ककनी गाउँपालिकाले प्रत्येक फोहोर बोकेर लगेको ट्रकको एक हजार ५०० रूपैयाँ लिने विषय गाउँसभाबाट पारित गराएको थियो । तर, अहिले पैसा उठाउने विषयभन्दा पनि स्थानीयको स्वास्थ्य महत्वपूर्ण भएकाले फोहोर नै फाल्न नदिने जनप्रतिनिधिहरू बताउँछन् ।

सम्बन्धित खबर