छुट्टाछुट्टै ठाँउमा डुबेर ४ जनाको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौं । विभिन्न ठाँउमा डुबेर ४ जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–१७ लप्टनडाँडामा पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने भैरव सुनारको छोरा ६ वर्षीय प्रिन्स सुनार रहेका छन् । आफ्नै घर नजिकै खेलिरहेको अवस्थामा चिप्लिएर आफ्नै पोखरीमा खस्दा डुबी गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको हो ।

यसैगरी दोलखाको बैतेश्वर गाउँपालिका–६ बुस्तीस्थित तामाकोशी कृषक समूहको पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाँउपालिका–३ बस्ने ४६ वर्षीय गोपाल खड्का रहेका छन् । सोही ठाँउमा काम गर्ने क्रममा डुबेर गम्भीर घाइते भएका उनको लालिगुराँस कम्युनिटी अस्पताल दोलखामा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको हो ।

साथै सिन्धुलीको दुधौली नगरपालिका–२ भलुवाहीमा खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने सुक देव कुमरको छोरा ८ वर्षीय आयुष कुमर रहेका छन् । आफ्नै घरबाट करिब १ किलोमिटर टाढा कमला खोलामा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको हो । डुबेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको हो ।

यसैगरी मकवानपुरको बागमती गाउँपालिका–१ बागमती खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका ठुलोगुर्दुङ बस्ने ४५ वर्षीय लघुदोर्जे दोङ रहेका छन् । उक्त खोला तर्ने क्रममा खोलाले बगाएर डुब्दा उनको आइतबार बिहान मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस