काठमाडौं । पछिल्लो समय सार्वजनिक भएको नक्कली भुटानी शरनार्थी प्रकरणमा संलग्नता भएका एकजनाको ललिता निवास प्रकरणमा पनि संलग्न भएको खुलेको छ ।
शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्त केशव तुलाधर ललितानिवास जग्गा हिनामिनामा पनि संलग्न रहेको प्रहरीले जनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उनलाई जिल्ला अदालत काठमाडौंले आइतबार १५ लाख रुपैयाँ धरौटीमा छाेड्ने आदेश दिएको थियो । धरौटी बुझाएलगत्तै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई परिसरबाटै नियन्त्रणमा लिएको छ ।
ललितानिवास परिसरको दुई रोपनी जग्गा उनको नाममा नामसारी भएको भेटिएपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बतायो । तीन महिनादेखि फरार रहेका तुलाधरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पक्राउ गरेको थियो ।
तुलाधर न्युरोडको देगा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन् । सो मुद्दाका प्रमुख अभियुक्तमध्ये एक सन्देश शर्मालाई उनले आर्थिक कारोबारमा सघाएका थिए । शर्माले विभिन्न व्यक्तिमार्फत महर्जनको सहकारीमार्फत लेनदेन गरेको अनुसन्धानबाट खुलेको थियो ।
ट्रेन्डिङ खबर उपलब्ध छैन।