
काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषधसहित १० जना पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका–१ मनहेरास्थित ग्यारेजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पकाउ पर्नेमा सोही ग्यारेजमा काम गर्ने ३० वर्षीय असलम अन्सारी रहेका छन् । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित आइतबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी कैलालीको टीकापुर नगरपालिका–८ कर्मिडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम १९ मिलिग्राम आइतबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले से.३ प ३१८ नम्बरको मोटरसाइकल वेबारिस अवस्थामा फेला पारी जाँच गर्दा मल्टिप्लकभित्र लुकाई राखेको अवस्थमा उक्त पदार्थ बरामद गरेको हो ।
साथै बर्दियाको मधुबन नगरपालिका– ९ गाउँ नम्बर १२ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ ४० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय समिर गुरुङ र सोही नगरपालिका–८ गाउँ नम्बर ६ बस्ने २९ वर्षीय जीवन खत्री रहेका छन् । ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित आइतबार राति पक्राउ गरेको हो ।
यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका–७ मा अवैध लागूऔषध गाँजा १ कोलो ५ सय ग्रामसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही ठाँउ बस्ने दिपक बिक्रम साहसहित ४ जना रहेका छन् । दिपकको घरमा लागूऔषध गाँजा बिक्री वितरण गर्दै गरेको अवस्थामा काशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी मोरङको बिराटनगर महानगरपालिका–५ विशाल चोकमा अवैध लागूऔषध गाँजा करिब २ किलो ३ सय ५० ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाँउ बस्ने ४२ वर्षीया मिना देवी साह रहेका छन् । उनले आफ्नो घरमा लागूऔषध लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घर तलासी गर्दा उक्त गाँजासहित उनलाई आइतबार बिहान पक्राउ गरेको हो । हाल फरार उनकै श्रीमान दिनेश साहको प्रहरीले खोजी गरिरहेको छ ।
साथै सुर्खेतको भेरी गंगा नगरपालिका–५ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका–२ बस्ने ३० वर्षीय दिपेन्द्र रोकायसहित २ जना रहेका छन् । अस्थाई प्रहरी पोष्ट बबईबाट खटिएको प्रहरी टोलीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको भे.५ प २८६६ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनीहरूलाई आइतबार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।