छुट्टाछुट्टै ठाँउबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । छुट्टाछुट्टै ठाँउमा अवैध लागूऔषसहित ६ जना पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका–६ लेकसाईडस्थित सुबिलम्ब होटलबाट अवैध लागूऔषध गाँजा २५ किलो २ ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली तिनपाटन गाउँपालिका–५ बस्ने २४ वर्षीय बिक्रम मोक्तान रहेका छन् । उक्त होटलको १०५ नम्बरको कोठाबाट लागूऔषध गाँजाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले होटलको उक्त कोठाबाट बोरामा लुकाई राखेको उक्तगाँजासहित उनलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ बस्ने ४१ वर्षीय प्रमोद बस्नेत र सोही नगरपालिका–८ बस्ने २४ वर्षीय प्रतिक शाही रहेका छन् । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ प३३८७ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित सोमबार दिउँसो पक्राउ गरेको हो ।

साथै झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची भन्सार कार्यालय अगाडिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–६ भानुटोल साठीबिघा बस्ने २९ वर्षीय अशोक डुम्जन तामाङ रहेका छन् । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ०२–०२२ प ८७२७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा हेलमेटको भित्री भागमा लुकाई ल्याएको उक्त पदार्थसहित सोमबार दिउँसो उनलाई पक्राउ गरेको हो।

यसैगरी ईलामको सूर्योदय नगरपालिका–६ कन्यामबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३ सय ८० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सूर्योदय नगरपालिका–५ समालबुङ बस्ने २१ वर्षीय प्रसिस खड्का र सोही नगरपालिका–६ कन्याम बस्ने २४ वर्षीय समिर तामाङ रहेका छन् । प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरी टोलीले झापाबाट ईलामतर्फ आउँदै गरेको बा.२१ च ७९७१ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित कारमा सवार उनीहरुलाई सोमबार राति पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस