
काठमाडौं । विभिन्न ठाँउमा डुबेर २ जनाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ बिचपानीस्थित चतरा–झुम्का नहरमा डुबेर बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका–१७ घर भई हाल सोही ठाँउ बस्ने मनिष मगरकी छोरी ५ वर्षीया कृष्णा मगर रहेकी छिन् । नहरमा खेल्ने क्रममा डुबेर सोमबार दिउँसो बालिकाको मृत्यु भएको हो ।
यसैगरी सप्तरीको तिलाठी कोईलाडि गाउँपालिका–७ मन्सापुरमा खाल्टोको पानीमा डुबेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने महादेव खंगको छोरा ८ वर्षीय गोबिन्द खंगको रहेका छन् । खाल्टोमा जमेको पानीमा नुहाउने क्रममा डुबेर सोमबार साँझ बालकको मृत्यु भएको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।