नक्कली मुद्रा र नक्कली सुनसहित २ जना पक्राउ

दियो पोस्ट

काठमाडौं । नक्कली मुद्रा र नक्कली सुनसहित २ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३ बसुन्धाराबाट नक्कली नेपाली तथा भारतीय मुद्रा र नक्कली सुनसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा गोरखा आरुघाट गाउँपालिका–१० घर भएका ४८ वर्षीय दुर्गा बहादुर खत्री क्षेत्री र भारत देश लखनउ घर भई हाल काठमाडौं महानगरपालिका–१० बस्ने ४५ वर्षीय विनय कुमार सिंह रहेका छन् ।

काठमाडौं बसुन्धारास्थित–३ एरिया अन्तर्गत विभिन्न स्थानमा नक्कली मुद्रा तथा सुनको अवैध कारोबार हुन्छ भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले नक्कली मुद्रासहित सिंहलाई शनिबार पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा खुल्न आएपछि काठमाडौं नागार्जुन नगरपालिका–२ सानोभर्‍याङस्थित क्षेत्रीको कोठामा जाँच गर्ने क्रममा नक्कली सुनसहित क्षेत्रीलाई पनि प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट भारतीय नक्कली नोट जस्तो देखिने २ हजार दरको ४ थान तथा ५ सय दरको ४ थान र नेपाली नक्कली नोट जस्तो देखिने १ हजार दरको नोट ६ थान, एककिलो फाइनगोल्ड लेखिएको सुनजस्तो देखिने धातु २ थान, १० ग्राम फाइनगोल्ड लेखिएको सुन जस्तो पहेलो धातु राखिएको प्याकेट २ सय थान, १० ग्राम फाइनगोल्ड लेखिएको सुनजस्तो पहेलो धातुको टुक्रा २० थान, टुक्रा राख्न प्रयोग गर्ने प्लास्टिकको पत्ता १ सय थान, लेमिनेसन मेसिन १ थान, मोटरसाइकल १ थान र मोबाइल २ थान प्रहरीले बरामद गरेको छ ।

उनीहरु उपर मुद्रा सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमिति लिई प्रहरी वृत्त महाराजगंजबाट थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर