
काठमाडौं । विभिन्न ठाँउमा करेन्ट लागेर ४ जनाको मृत्यु भएको छ । सिरहाको सिरहा नगरपालिका–२१ लकडिगोठ मलिया टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ४० वर्षीय तपेश्वर यादव रहेका छन् । आफ्नै खेतमा धान रोप्न विद्युतीय मोटर पम्पबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।
यसैगरी दाङको लमही नगरपालिका–३ मिलन चोकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ५९ वर्षीया रूपनी चौधरी रहेकी छिन् । आफ्नै घरको करेसा बारीमा घाँस काट्ने क्रममा मोटरको तारबाट करेन्ट लागेर घटनास्थलमै बिहीबार दिउँसो उनको मृत्यु भएको हो ।
साथै धनुषाको बटेश्वर गाउँपालिका–५ शान्तिपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ५५ वर्षीय कमलदेव यादव रहेका छन् । आफ्नै माछा पालन पोखरीमा पानी हाल्नको लागि विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।
यसैगरी झापाको दमक नगरपालिका–३ स्थित निर्माणाधिन दमक भ्यू टावरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा महागढीमाई नगरपालिका–४ बस्ने ३२ वर्षीय अरुण कुमार जैसवाल रहेका छन् । सोही भ्यु टावरमा वायरिङको काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लाईफ लाईन अस्पताल दमकमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो ।
प्रहरीले सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।