
काठमाडौं । विभिन्न ठाँउमा डुबेर ३ जनाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–२७ स्थित सार्वजनिक पोखरीमा डुबेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा उपमहानगरपालिका–११ घोघरिया टोल बस्ने फिरोज अंसारीको छोरा १२ वर्षीय आरिफ अंसारी रहेका छन् । पोखरीमा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल कलैया बारातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
यसैगरी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ स्थित सिचाई पानी पोखरीमा डुबेर २ जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका पानीखोला बस्ने बम बहादुर खप्तडीकी छोरी ५ वर्षीया सपना खप्तडी र लिला खप्तडीको छोरी ८ वर्षीया बिपना खप्डीका रहेका छन् । उनीहरुको पोखरीमा डुबेर बिहीबार साँझ घटनास्थिलमा नै मृत्यु भएको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।