काठमाडौं । विभिन्न ठाँउबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । कपिलवस्तुको यशोधरा गाउँपालिका–६ पुर्निहवा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रूपन्देही सैनामैना नगरपालिका–२ पेरिसडाँडा बस्ने २८ वर्षीय बिकाश खत्री क्षेत्री र रूपन्देही शुद्धोधन गाउँपालिका–२ खैरेनी बस्ने २६ वर्षीय सबिक घर्ती मगर रहेका छन् । प्रहरी चौकी रंगपुरबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका उनीहरुलाई उक्त पदार्थसहित शुक्रबार बिहान पक्राउ गरेको हो ।
यसैगरी नवलपरासी (पूर्व) बिनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ५० एम्पुल, डाईजेपाम ५० एम्पुल र फेनारगन ५० एम्पुलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–१२ भटौलिया बस्ने ३३ वर्षीय धिरज चौधरी रहेका छन् । प्रहरी चौकी दाउन्नेबाट खटिएको प्रहरी टोलीले मधेस प्रदेश ०३–००१ ख ७५२४ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित शुक्रबार बिहान पक्राउ गरेको हो ।
साथै सप्तरीको सुरुङ्गा नगरपालिका–२ हनुमान चोकबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–२ हनुमान चोक बस्ने २२ वर्षीय मनिस चौधरी रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त गाँजासहित शुक्रबार बिहान पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।