
काठमाडौं । विभिन्न ठाँउबाट अवैध लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । धादिङको गल्छी गाउँपालिका–७ बुद्वपार्कस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १० केजीसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा नवलपरासी सुनवल नगरपालिका–१२ बस्ने ३६ वर्षिय ईन्द्र बहादुर डाला मगर र १९ वर्षीय आशिष विक रहेका छन् । प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गाडीको प्रतीक्षा गरिरहेको अवस्थामा उक्त गाँजासहित शनिबार राति पक्राउ गरेको हो ।
यसैगरी धादिङकै बेनिघाट गाउँपालिका–५ बिशालटारबाट अवैध लागूऔषध गाँजा करिब ६ केजीसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका–२० मालेपाटन बस्ने २० वर्षिय भुमिजङ खड्का, धादिङ निलकण्ठ नगरपालिका–६ घर भई पोखरा न्युरोड बस्ने २८ वर्षीय सुमन लम्साल र ओखलढुङ्गा लिखु गाउँपालिका–४ घर भई पोखरा लेकसाइड बस्ने ३४ वर्षीय विकास बस्नेत रहेका छन् । प्रहरी चौकी बेनिघाटबाट खटिएको प्रहरी टोलीले ग.१८ प ७११३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजासहित गए राति पक्राउ गरेको हो ।
साथै कैलालीको धनगढी उपमहानगरपालिका–३ व्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ५० मिलिग्रामसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–४ बस्ने ३७ वर्षीय बिरेन्द्र खड्कासहित ३ जना रहेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित शनिबार राति पक्राउ गरेको हो ।
सवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।