
काठमाडौं । विभिन्न ठाँउमा डुबेर ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको सियारी गाउँपालिका–१ सोनारेटस्थित तिनाउखोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिका–१५ मधवलिया बस्ने भिम नारायण थारुको छोरा ११ वर्षीय अमर थारु रहेका छन् । पौडी खेल्ने क्रममा डुबेर उनको शनिबार दिउँसो मृत्यु हो ।
यसैगरी रुपन्देहीकै बुटवल उपमहानगरपालिका–१ गणेश मन्दीरस्थित तिनाउ खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ डेरा गरी बस्ने कुम(पुर्वी) भूमी गाउँपालिका काँडागाँउ घर भएका ३९ वर्षिय जगेन्द्र बुढामगर रहेका छन् । खोलामा नुहाउने क्रममा डुबेर शनिबार साँझ उनको मृत्यु भएको हो ।
साथै कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ८ वर्षीया यमुना सापकोटा रहेका छन् । सोही ठाउँस्थित काडा नदीमा नुहाउने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको हो ।
यसैगरी बर्दियाको बढैयाताल गाउँपालिका–६ मा नालामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ६० वर्षीय बिरे कठायत रहेका छन् । नाला तर्ने क्रममा डुबेर शनिबार साँझ उनको मृत्यु भएको हो ।
साथै कास्कीको पोखरा महानगरपालिका–१७ पावरहाउस नजिक फुस्रेखोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही महानगरपालिका–८ बस्ने १६ वर्षीय बिवेक कुँवर रहेका छन् । पैडी खेल्ने क्रममा डुबेर उनको शनिबार साँझ मृत्यु भएको हो ।
यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका–७ ज्ञानज्योती टोलको ग्वारखोलमा सिचाईको बाँधमा डुबेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल सोही ठाँउ डेरा गरी बस्ने रुकुम आठबिसकोट नगरपालिका–५ घर भएका दल बहादुर बुढाको छोरा ६ वर्षिय निर्माण बुढा रहेका छन् । खोलामा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको हो । साथै डुबेर अशक्त भएका मृतकका आफ्नै दाइ १२ वर्षीय बिश्वास बुढाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।