लाईसेन्स बनाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । लाईसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–१३ एकान्तकुना ठेगाना भएका ३० वर्षीय राजु परियार र काठमाडौं महानगरपालिका–१४ कलंकी सुनारगाउँ बस्ने ३६ वर्षीय ब्रम्हा रिसाल रहेका छन् । राजु परियारलाई सम्राट, समिर, रागब नामले पनि चिनिन्छ । ब्रम्हा रिसाल कृष्ण ज्वेलर्स एण्ड सन्सका संचालक पनि हुन् ।

उनीहरुले ट्रायल पास गराइदिने विश्वास दिलाई दर्जन भन्दा बढी व्यक्तिहरूबाट नगद तथा सुनको गहना जबरजस्ती लिई ४ लाख ३० हजार रूपैयाँ बराबरको रकम ठगी गरेका छन् । उनीहरुमध्ये राजुले यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी हुँ भन्दै उक्त रकम तथा सुन ठगी गरेको र ब्रम्हाले ठगी गरेको सुन खरिद गरेको अनुसन्धानबाट खुल्न आएको छ। अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले राजुलाई ललितपुर महालक्ष्मी नगरपालिका–७ लुभुबाट शनिबार पक्राउ गरेको हो भने ब्रम्हा रिसाललाई काठमाडौं कालीमाटीबाट ठगी गरेको सुनलाई गाली ढिक्का बनाई राखेको ११ ग्राम ६ सय ८० मिलिग्राम सुनसहित आइतबार पक्राउ गरेको हो ।
उनीहरू उपर ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुर पठाइएको छ ।