काठमाडौं । प्रधानमन्त्रीको सुशासन सल्लाहकार तथा अन्य प्रमुख नेताहरुसँग चिनजान रहेको भन्दै रकम ठगी गरेको आरोपमा २ जना पकाउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका–८ बस्ने ४४ वर्षीय राजेन्द्र प्रसाद खनाल र २३ वर्षीय बिशाल खनाल रहेका छन् ।
उनीहरूले विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने विश्वास दिलाई विभिन्न कागजातहरूमा सही छाप गराई ४५ लाख भन्दा बढी रकम ठगी गरेका छन् । उक्त रकम ठगी पछि उनीहरु ना.४ च ८६७० नम्बरको स्कारपियो जिप समेत लिई फरार रहेको थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले जिपमा सवार उनीहरुलाई कोटेश्वरबाट आइतबार दिउँसो पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान एवम् कारवाहीको लागि ईलाका प्रहरी कार्यालय दमक झापा पठाइएको छ ।