मानव बेचबिखनकाे आरोपमा संलग्न रहेका एक जना पक्राउ

दियो पोस्ट

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–२७ घर भई हाल काठमाडौं महानगरपालिका–८ गुह्रेश्वरी पन्चकन्या मार्ग डेरा गरी बस्ने ३४ वर्षीय कमल तामाङ रहेका छन् ।

तामाङले सुन्दर भविष्य र सुविधा सम्पन्न जीवनशैली उपलब्ध हुने लोभ लालच र भ्रममा पारी अवैधानिक बाटो हुँदै अमेरिका लगिदिने भनी पीडितहरुलाई अन्यत्र देशमा लगि अलपत्र पार्ने, बन्धक बनाई यातना दिने र फिरौती लिने जस्ता आपराधिक कार्य गरेको प्रहरी बताए । उक्त कार्यमा उनको संलग्न रहेको खुल्न आएपछि तामाङलाई नेपाल प्रहरी प्रधान कार्यालय मावन बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीटोलीले उनलाई आइतबार पक्राउ गरेको हो ।

साथै तामाङले हवाई मार्ग हुदै अमेरिका लैजाने प्रलोभन देखाई जनही ११ लाख ३० हजारदेखि ६० लाख रूपैयाँसम्म रकम लिई हालसम्म पीडितहरुबाट जम्मा २ करोड २६ लाख २३ हजार ८ सय ९० रुपैयाँ लिएका छन् । उनले नेपालबाट अमेरिका लैजाने भनि भारतको नयाँदिल्ली, श्रीलंका, दुबई, सिंगापुर, फिलिपिन्स, थाईल्याण्ड, लाओस र जाम्बिया लगायतका देशहरुमा पुर्‍याई अलपत्र पारी थप रकम माग गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित खबर