अवैध लागूऔषधसहित ३ जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । विभिन्न ठाँउबाट अवैध लागूऔषसहित ३ जना पक्राउ परेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ सय ४९ ट्याब्लेट, डाइजेपाम ३ सय ९५ पीस, नुरफिन ६३ पीस र मोबाइल २ थानसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसङ्खुपाखर गाँउपालिका–५ घर भई हाल काठमाडौं बौद्ध बस्ने ३३ रविन्द्र तामाङ रहेका छन् । प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरी टालीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित उनलाई सोमबार साँझ पक्राउ गरेको हो ।

यसैगरी सुर्खेतको भेरीगंगा नगरपालिका–१० तोलीखोलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दैलेख नारायण नगरपालिका–१ नयाँबजार बस्ने २१ वर्षीय सागर केसी र सोही ठाउँ बस्ने २२ वर्षीय सन्दिप गुरूङ रहेका छन् । ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको भे.८ प ६७६१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याएको उक्त पदार्थसहित उनीहरुलाई सोमबार राति पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस