काठमाडौं । विभिन्न ठाँउमा करेन्ट लागेर ४ जनाको मृत्यु भएको छ । बाराको पचरौता नगरपालिका–९ कुडवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ५३ वर्षीय राम एकवाल यादव रहेका छन् । सोही ठाँउ स्थित आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा मंगलबार बिहान बाटोमै मृत्यु भएको हो ।
यसैगरी सर्लाहीको मलंगवा नगरपालिका–१० मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ६५ वर्षीया पार्वती देवी रहेकी छिन् । आफ्नै घरको दोस्रो तलाको छतको रेलिङबाट खस्दा विद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
यसैगरी धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ३७ वर्षीय बिरेन्द यादव रहेका छन् । आफ्नो भान्सा कोठाको तार मिलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मंगलबार बिहान मृत्यु भएको हो ।
साथै गोरखाको शहिदलखन गाउँपालिका–७ बाह्रबिसे बस्ने शान्ता तिवारीको खेतको काम गर्न लागि मेला आएका एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका थापा गाउँ बस्ने ४० वर्षीय राम मणि थापा रहेका छन् । तिवारीको कुखुराको खोरमा लगाएको तार जालीमा विद्युत सर्ट भई छेउमै राखिएको हाते ट्याक्टर निकाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गोरखामा उपचारको क्रममा मंंगलबार बिहान मृत्यु भएको हो ।
सवै सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।