काठमाडौं । विभिन्न ठाँउबाट अवैध लागूऔषसहित १० जना पक्राउ परेका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका–४ कारगिल डाँडाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका–५ मटियारी बस्ने २९ वर्षीय लक्ष्मण खड्का र २० वर्षीय आदित्य चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले भारतको बसहीबाट नेपालतर्फ आउदै गरेका उनीहरूलाई उक्त पदार्थसहित मंगलबार दिउँसो पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको सु.प.प्र.०१–००८ प ९७८३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
यसैगरी मोरङको बिराटनगर महानगरपालिका–१६ दरैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९४ मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय पूर्ण तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित मंगलबार दिउँसोे पक्राउ गरेको हो ।
साथै बर्दियाको बासगढी नगरपालिका–६ मोतिपुर गाउँस्थित सडकबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ १ ग्राम २ सय ७० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय ओमकार थारु र सोही नगरपालिका–५ बस्ने २४ वर्षीय तुल्सीराम थारु रहेका छन् । ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरी टोलीले मैनापोखरबाट बासगढीतर्फ साईकलमा जाँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी बाँकेको कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर कटेज रेष्टुरेण्ट एण्ड लजको कोठा नम्बर १०६ बाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ५ केजी ३ सय ६९ ग्रामसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा जुम्ला तिला नगरपालिका–३ बस्ने ४१ वर्षीय हरि प्रसाद भट्टराई, ३० वर्षीय देवी प्रसाद भट्टराई र ४० वर्षीय भवानी प्रसाद भट्टराई रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले तलासी गर्ने क्रममा उक्त लागूऔषध र ३ थान मोबाइलसहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी कैलालीको टिकापुर नगरपालिका–९ खग्रौलाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६ ग्राम ६० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत हरनिक सुथाना बरसोला खिरी उत्तर प्रदेश बस्ने ५१ वर्षीय हरिओम सिंह राजपुत रहेका छन् । प्रहरी चौकी कालाकुण्डा र आरआईटीबाट खटिएको संयुक्त टोलीले युपि ३१ बिएक्स ६८९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित मंंगलबार साँझ पक्राउ गरेको हो ।
यसैगरी झापाको मेचिनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हरोईन जस्तो देखिने पदार्थ ३५ ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका–४ आइतबारे बस्ने २७ वर्षीय धिरज हिमाङ्मं रहेका छन् । ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित मंगलबार राति पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।