
कपिलवस्तु । कपिलवस्तुमा स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन् । जिल्लाको कपिलवस्तु नगरपालिका–१ स्थित नयाँ टोलबाट स्रोत नखुलेको विभिन्न दरको २४ लाख १३ हजार २ सय ५५ नेपाली रूपैयाँ र विभिन्न दरको १४ लाख ९४ हजार ९ सय २० भारतीय रूपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाँउमा डेरा गरी बस्ने ४७ वर्षीय सुनिल कुमार गुप्ता रहेका छन् । उनले अवैध रूपमा भारतीय रूपैयाँको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरी टोलीले उनलाई लुकाई छिपाई राखेको उक्त रकमसहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।