
काठमाडौं । विभिन्न ठाँउबाट लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित फैमिली पिस हाउस होटेलको कोठा नम्बर २०२ बाट अवैध लागूऔषध चरेश १ केजी र १० एमएलको सिबीडी झोल पदार्थ सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा अमेरिकी नागरिक ३० वर्षीय ड्यारल जोर्डन रसे र बेल्जियम नागरिक ४५ वर्षीय सारा इरेन वास्टिजन रहेका छन् । उक्त कोठामा लागूऔषध लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले तलासी गर्ने क्रममा बुद्ध र गणेशको आकृति भएको धातुको मूर्तिभित्र लुकाई छिपाई राखिएको अवस्थामा उक्त लागूऔषधसहित उनीहरूलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका–३२ स्थित होटल त्रिमुर्ति प्रालिको ३०६ नम्बरको कोठाबाट अवैध लागूऔषध खैरो हेरोइन १५ ग्राम, नाइट्राजेपाम १५ ट्याबलेट र डिजिटल तराजु १ थानसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका–४ ठेगाना भएका २३ वर्षीय निल्शन उदास रहेका छन् ।लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उक्त लागूऔषधसहित मंगलबार साँझ पक्राउ गरेको हो ।
साथै दाङको लमही नगरपालिका–४ शान्तिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम र नगद १५ हजार ४ सय २५ रुपैयाँसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २८ वर्षीया गगजनी (दिनिशा) वालिका सुनारसहित ३ जना रहेका छन् । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त लागूऔषध र नगदसहित बुधबार राति पक्राउ गरेको हो ।
यसैगरी कैलालीको जोशिपुर गाउँपालिका–४ झवहि पथरैया नदीको पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ सय मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । जिल्लाको भजनी नगरपालिका–६ नवलपुर बस्ने २८ वर्षीय राजेश चौधरी रहेका छन् । बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित बुधबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी सिन्धुलीको दुधौली नगरपालिका–१० लखिमाबाट अवैध लागूऔषध गाँजा करिब १० केजीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाँउ बस्ने ५० वर्षीय ईन्द्र बहादुर घिसिङ रहेका छन् ।घिसिङको घरमा लागूऔषध गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी कमलाखोजठाडीबाट खटिएको प्रहरी टोलीले घर तलासी गर्ने क्रममा उक्त गाँजासहित बुधबार दिउँसो पक्राउ गरेको हो ।
सवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।