वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गर्ने ३ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका–७ घर भई भक्तपुर सूर्यविनायक बस्ने ३१ वर्षीय मौसम मग्राती, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने ३२ वर्षीय अनन्त प्रकाश श्रेष्ठ र उदयपुर ताप्ली गाउँपालिका–४ घर भई ललितपुर महानगरपालिका नखिपोट बस्ने ३० वर्षीय प्रचलन राई रहेका छन् ।

मौसम मग्रातीले १ जनालाई माल्टा पठाई आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट रकम ठगी गरेका थिए । श्रेष्ठले १ जनालाई पोल्याण्ड पठाई प्रतिष्ठित कम्पनीमा मासिक २ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ८ लाख रुपैयाँ ठगी गरेको थिए । साथै प्रचलन राईले १ जनालाई क्रोसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ६ लाख रूपैयाँ ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई काठमाडौं जोरपाटी नारायणटारबाट मंगलबार तथा मग्रातीलाई काठमाडौं काँडाघारीबाट र राईलाई ललितपुर नखिपोटबाट बुधबार पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सिफारिस