बाँके । बिलविजक बिनाको मोवाईलका डिसप्लेसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । बाँके जिल्लाको कोहलपुर नगरपालिका-११ स्थित कृषिबजार चोक नजिकैबाट सशस्त्र प्रहरीले करिब ४१ लाख ८१ हजार रुपैयाँ बराबरको मोवाईलको डिसप्ले सहित एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारत घर भएका ३६ वर्षिय नावेद अली रहेका छन् । से ७ प ८९९९ नम्बरको मोटरसाईकलमा जाँच गर्ने क्रममा अलीले बोकेको उल्लेखित मुल्य बराबरको बिभिन्न ब्रान्डका मोवाईलका डिसप्लेको बिलविजक फेला नपरेपछि नं. ३० बागेश्वरी गण बाँके र राजश्व चुहावट नियन्त्रण सुरक्षा वेश कोहलपुरले बिहीबार उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका अलीलाई बरामद डिसप्ले तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपालगन्ज भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाईएको छ ।