
काठमाडौं । विभिन्न ठाँउबाट अवैध लागूऔषधसहित ७ जना पक्राउ परेका छन् । कैलालीको टिकापुर नगरपालिका–९ खक्रोला पुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१ ब्लक नम्बर ११ वस्ने २४ वर्षीय आवाश भट्टराई र सोही नगरपालिका ब्लक नम्बर १८ बस्ने २५ वर्षीय जिवन रावल रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको रा.५प ३७४ नम्बरको मोटेरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनीहरूलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी कैलालीकै धनगढी उपमहानगरपालिका–३ ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा गोदावरी नगरपालिका–८ बस्ने २१ वर्षीय विवेक चौधरीलाई ६ सय ५० मिलिग्रामसहित तथा सोही उपमहानगरपालिका–१ बस्ने २१ वर्षीय संजय गुप्ता र १९ वर्षीय अभिषेक कुसुवालाई अवैध लागूऔषध ब्राउनसुगर १ सय १० मिलिग्रामसहित पक्राउ गरेको हो । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले उक्त लागूऔषधसहित उनीहरुलाई शनिबार साँझ पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुरको पुनर्वास नगरपालिका–१० दोदाबाट खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा कैलाली धनगढी उपमहानगरपालिका–३ मिलनचोक बस्ने २८ वर्षीय प्रदिप पाख्रिन र सोही उपमहानगरपालिका–१ शिवनगर बस्ने ३३ वर्षीय बिकल मगर रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट धनगढी र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले सु.प.प्र. ०२–००३ प ६४३१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनीहरूलाई शनिबार साँझ पक्राउ गरेको हो ।
सवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।