प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकले पारिश्रमिक पाउनै धौ–धौ

Guest
युवराज पहाडी

ओखलढुंगा । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार पाएका श्रमिकले पारिश्रमिक पाउँनै धौ–धौं हुने गरेको छ । ओखलढुंगाको सुनकोशी गाउँपालिका वडा नं. ९ का स्थानीय (श्रमिक)ले श्रम गरेको पारिश्रमिक एक वर्षपछि मात्रै पाएका छन् । वडाध्यक्ष हितराज कार्कीको सिफारिसमा योजनाका अध्यक्ष खड्ग बहादुर खत्रीले पालिकाबाट योजना सम्पन्न नहुँदै आफूले भुक्तानी लिए पनि श्रमिकलाई भने योजना सम्पन्न भएको १४ महिनापछि मात्रै भुक्तानी दिएका छन् ।

२०७९/०८० को उक्त कार्यक्रमअन्तर्गत काम गरेको पारिश्रमिक नपाएपछि पीडितहरुले गाउँपालिकाको न्यायीक समितिमा उजुरी दिएका थिए । श्रमिकहरुले पाउँनु पर्ने रु ४३६२३ (अक्षरुपी त्रिचालिस हजार छ सय तेईस रुपैया) रकम पाएका थिएनन् । पटक–पटक पारिश्रमिक माग गर्दा उल्टै आफूहरुले धम्की खेप्दै आएको श्रमिकहरुको भनाई छ ।

उजुरीपछि न्यायीक समितिका संयोजक सुनीता अधिकारीको नेतृत्वमा भएको छलफलमा खत्री र कार्कीबिच यस विषयमा चर्काचर्की समेत भएको एक प्रत्यक्षदर्शीले बताए । उनका अनुसार खत्री श्रमिकलाई पारिश्रमिक नरोक्ने पक्षमा थिए भने, कार्की श्रमिकको भुक्तानी रोक्ने पक्षमा थिए ।

श्रमिकले न्यायीक समितिको दबाबमा गत साउन १ गते मात्रै १४ महिनापछि भुक्तानी पाएका छन् । लामो संघर्षपछि पारिश्रमिक पाएका एक श्रमिकले आफूहरुले ज्याला माग्दा उल्टै धम्की खाँदै आएको बताए । “हामिले काम गरेको पैसा नदिएर एक वर्षसम्म झुलाए । राजनीतिक आस्थाका कारण पटक–पटक मानसिक तनाव दिँदै आएका थिए । हाम्रा बालबच्चा विरामी पर्दासम्म पनि हामीले आफ्नो ज्यालाको रकम पाउँन सकेनौं”उनले भने, “अहिले लामो समयपछि बल्लतल्ल आफ्नो दुःखको रकम पायौं ।”

सम्बन्धित खबर