काठमाडौं । साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली सुनकोशी गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने ३३ वर्षीय राजन गिरी रहेका छन् ।
गिरीले १ जनालाई साइप्रस पठाइ प्रतिष्ठित कम्पनीमा १ लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारेका थिए । पीडितबाट पटकपटक गरी २ लाख रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं लाजिम्पाटबाट आइतबार पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।