कैलालीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

दियो पोस्ट  

कैलाली । कैलालीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–३ चौकिडाँडामा सु.प प्र.०१००२ त ६४१९ नम्बरको ट्याक्टर र सु.प प्र.०१०११ प ७३२० नम्बरको मोटरसाइकल एकआपसको ठक्करबाट दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हाे ।

मृत्यु हुनेमा नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर कञ्चनपुरमा कार्यरत प्रहरी जवान कपिल कठायत रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अस्थायी प्रहरी पोष्ट राजपुर डोटीमा कार्यरत प्रहरी जवान हेमराज डाउडालाई माया मेट्रो अस्पताल धनगढीमा उपचारको लागि पठाइएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।