नक्कली सेना बनेर लुट्ने गिरोहका ३ जना पक्राउ, अझै ५ जना फरार (भिडियो सहित)

दियोपोस्ट संवाददाता  

मुगु । गाउँमा पसेर लुटपाट मच्चाउने गिरोहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मुगुले उनीहरुलाई आधुनिक हतियार, सेनाका पहिरनसहित पक्राउ गरि आइतबार साझ पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जुम्लको गुठिचौर गाउँपालिकाका–३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठाउँका पूर्णप्रसाद भण्डारी र गुठीचौर–४ कै कमल थापा रहेका छन् । प्रहरीका अनुसार यसरी नक्कली सेना बनेर गाउँ–गाउँमा लुट्नेमा ८ जनाको संलग्नता देखिए अहिलेसम्म ३ जना मात्र परेका छन् ।

गत जेठ १२ गते मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँका स्थानीयहरु यार्सागुम्बा संकलन गर्न गएको मौका छोपेर पालिकाका विभिन्न गाउँबाट लुटपाट गरेका थिए । ८ जनाको उक्त समूहले विभिन्न हात हतियारसहित स्थानीयलाइ कुटपिट तथा डर त्रास देखाएर लुटपाट गरेका थिए ।

गिरोहले अहिलेसम्म कति लुट्यो ?
यो लुटेरा समुहले गाउँका २४ वटा घर १ गुम्बाबाट ३५ तोला सुन, ९९४ तोला चाँदी, बुद्धको मुर्तीलगायत ९५ तोला मुगाका माला चोरी गरिसकेको छ । साथै यार्सा, मोवाइल र ५० लाख २५ हजार नगद लुटेको छ । यसरी विभिन्न हात हतियार देखाएर लुटपाट मच्चाउदै आएको यो समूहविरुद्ध स्थानीयले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीमा जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी निरिक्षक प्रकाश सिंह नेतृत्वको टोली विभिन्न ७ वटा स्थानमा खटिएको थियो ।
प्रहरीले उनीहरुसहित कटुवा पेस्तोल १ थान, आरएसएस १ थान, २ थान म्याग्जिन, २५ राउण्ड गोली, ३ थान ओके टोके, १ थान बाइनाकुलर, ५ सेट नेपाली सेनाका पोशाक र १ थान ट्रेकिङ झोला बरामद गरेको छ ।
साथै उनीहरुबाट सुनको रिङ्, माडुलीसमेत बरामद गरेको छ ।

यो सँगै यो समुहले विगत तीन वर्षदेखि जुम्ला, डोल्पा र मुगुका पाटनहरुमा यार्सा संकलन गर्ने तथा व्यापारीबाट यार्सागुम्बा लुट्दै आएको थियो ।
यसरी लुट्दै हिड्ने गिरोहका अन्य ५ जना भने अझै फरार छन् । प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाकाअनुसार लुटेरा समूहसँग अत्याधुनिक हतियारसहित र नेपाली सेनाको पोशाकबारे थप अनुसन्धानबाट खुल्ने छ ।
पक्राउ परेका ३ जनामाथि थप अनुसन्धानका लागि आइतबार जिल्ला अदालत मुगुले २० दिनको अनुमती दिएको छ ।

नक्कली सेना बनेर लुट्ने गिरोहका ३ जना पक्राउ, अझै ५ जना फरार

भिडियो पनि हेर्नुहाेस्