‘देशका समस्या सम्बोधन गर्न ठूला दल मिलेर सरकार बनाउन लागेका हौं’

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले देशका समस्याहरू सम्बोधन गर्न संसदका दुई ठूला दल मिलेर सरकार बनाउन लागेको बताएका छन्।

संसद भवन परिसर नयाँ बानेश्वरमा मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले गठबन्धन परिवर्तन गरिरहने, एक अर्को दलसँग मिलेर अस्थिरता निम्त्याइरहने प्रवृत्तिले देशलाई ठिक दिशामा नलैजाने भएकाले कांग्रेस र एमाले मिल्नु परेको बताए।

वर्तमान सरकारले प्रतिवद्धता एउटा र काम अर्को गर्ने गरेको उनको आरोप छ।

‘गठबन्धन परिवर्तन गरिरहने, कहिले एउटा दल, कहिले अर्को दलको प्रवृत्तिले देशलाई ठिक बाटोमा लगेन। आम जनतालाई पनि विश्वास दिन सकेन। कुरा धेरै भए, काम उल्टो भयो। त्यो परिवेशमा देशका जल्दोबल्दो समस्या समाधान गर्ने हो भने दुई ठूला दल बाँकी समयमा स्थिर सरकार बनाउन हामी लागेका हौँ,’ उनले भने।

स्थिरतातर्फ लैजान र समावेशिता, समानुपातिकतालाई सुनिश्चित गर्दै निर्वाचन पद्धतिलाई संशोधन गर्न पनि संसदका दुई ठूला दल मिल्नुपरेको उनले बताए।