काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी आन्दोलनबारे भावुक हुँदा आफू सरकार गुमाउने स्थितिमा पुगेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत माग्दै उनले एमाले अध्यक्ष केपी ओलीले आफूलाई भ्रममा राखेको आरोप लगाए । ‘म अलिकति वामपन्थी आन्दोलनको भावुकतामा परेँ,’ प्रचण्डले संसदमा भने, ‘एमाले अध्यक्षको कला र क्षमता तारिफ गर्न लायक छ । त्यसलाई मैले वाम सेन्टिमेन्ट ठानेको थिएँ, त्यो षड्यन्त्र रहेछ भन्ने थाहा पाउन ढिला भएँ ।’
प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीले लामोलामो संवाद गरेर आफूलाई लठ्याएको टिप्पणी गर्दै उनले भने, ‘एमाले अध्यक्षले हामी नमिले अर्को चुनावमा पश्चिम बंगाल भइन्छ भनेपछि मैले त्यसलाई सरकारको गियर फेर्ने अवसर ठानेको थिएँ ।’
कांग्रेससँग सहमति भइसक्दासमेत ओलीले आफूलाई ढाँटेको उल्लेख गर्दै प्रचण्डले १७ असार बिहानसम्म पनि स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने भनेर आफूहरू उठेको बताए । ‘एमालेको मूल नेतृत्वले त्यति भनेपछि म फुर्किँदै मन्त्रिपरिषद् बैठकमा गए । उपप्रधानमन्त्रीहरू अर्को सहमति बन्न लागेको भन्दै हुनुहुन्थ्यो, मैले ढुक्क हुनुस् केही हुन्न भनेँ । कति लाटो म,’ उनले भने ।