*रुपक वैदेशिक रोजगार ठगीमा मुछिए, २५ लाख ठगीको आरोप !

दियोपोस्ट संवाददाता

काठमाडौं । माओवादी केन्द्रका नेताका पुत्रहरु विभिन्न अपराध र ठगीमा मुछिने गरेका छन् । माओवादी उपाध्यक्ष कृष्ण बहादुर महराका पुत्र राहुल महरा सुन तस्करी अभियोगमा कारागारमा सजाय भोगी रहेका छन् । पछिल्लो समय एमाले प्रवेश गरेका पूर्व माओवादी नेता रामबहादुर थापा बादल पुत्र भुटानी शरणार्थी प्रकरणमा केही महिना अघि पक्राउ परि कारागार चलान भएका छन् । टोप बहादुर रायमाझी र उनका पुत्र पनि अहिले जेलमै छन् । समाजमा क्रान्ति गरेर आएका नेताहरु पछिल्लो समय विभिन्न अपराधका घटनामा मुछिने र पक्राउ परि जेल जाने सामान्य जस्तै बनेको छ ।

यसरी ठगी र अपराधमा अर्का माओवादी नेताका पुत्र पनि मुछिएका छन् । निवर्तमान संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री हितबहादुर तामाङका पुत्र रुपक तामाङले पनि वैदेशिक रोजगारमा पठाइदिने बहानामा लाखौँ ठगी गरेको खुलाशा भएको छ । रुपकले धादिङको जिउँदो सहिद भनेर चिनिने नेकपा माओवादीकै सहइन्चार्ज राम बहादुर भण्डारीका पुत्र युगल भण्डारीको २५ लाख रुपैयाँ ठगी गरेको आरोप छ । युगलका अनुसार रुपकले कतारको सेक्युरिटी गार्डमा डेमान्ड ल्याउँछु भन्दै यतिका रकम ठगी गरेको आरोप छ । उनका अनुसार रुपकका बाबु तथा निवर्तमान संस्कृति तथा पर्यटन मन्त्री हितबहादुर तामाङले कतारको डेमान्ड ल्याइदिने वचन दिएको पीडित युगल भण्डारीले दियोपोस्टलाई बताए ।

रुपकको नाममा सानिमा बैंकको नक्साल शाखामा रहेको खातामा २५ लाख रुपैयाँ जम्मा भएको भौचर समेत प्राप्त भएको छ । खाता नम्बर ०७६०११०६०००१७२९ मा सन् २०२१ अगष्ट २७ मा २५ लाख रुपैयाँ जम्मा भएको देखिन्छ ।

हामीले रुपकलाई तपाईमाथि त २५ लाख ठगी गरेको आरोप छ नि भनेर प्रश्न गर्र्दा उनले आफूलाई यसबारे केही पनि थाहा नभएको झुटो प्रतिक्रिया दिएका छन् । जबकी उनी आफैले उक्त रकम बैंकमा जम्मा गरेका थिए । “खोई मलाई योबारे केही थाहा भएन ।” उनले यति भन्न नपाउँदै फोन राखे । त्यसपछि पनि पुनः सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

 

सम्बन्धित खबर

सिफारिस