भरतपुर महानगरद्वारा अन्तरजातीय बिहे गर्ने १५ जोडी सम्मानित

दियोपोस्ट संवाददाता

चितवन । जातीय विभेद अन्त्यका लागि प्रोत्साहन गर्न भन्दै भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका १५ जोडीलाई सम्मान गरेको छ । महानगरले दलित र गैर दलितबीच अन्तरजातीय विवाह गर्ने जोडी लाई एक–एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले विगत ५ वर्षदेखि अन्तरजातीय जोडीलाई सम्मान गर्दै आएको बताइन् । हरेक वर्ष सम्मानित हुने अन्तरजातीय जोडीको संख्या बढ्दै गएकोमा उनले खुसी व्यक्त गर्दै उनले जातीय विभेदलाई न्यूनीकरण गर्न यो अभियानले सार्थकता पाएको उल्लेख गरिन् ।

प्रमुख दाहालले जातीय विभेदका अवशेष अहिलेपनि बाँकी रहेको भन्दै सामूहिक प्रयासबाटै यसको अन्त्य गर्नु पनेृमा जोड दिइन् ।

कार्यक्रममा महानगरका उपप्रमुख चित्रसेन अधिकारीले चुनौती र संघर्षको बाबजुद सामाजिक रुपान्तरणको लागि अन्तरजातीय विवाहले ठूलो भूमिका खेलेको बताए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले सामाजिक क्रान्तिमा भाग लिने जोडीलाई अप्ठ्यारो परिस्थितीमा पनि एकढिक्का भएर अगाडि बढ्न आग्रह गरे ।

सम्मानित हुनेमा भरतपुर महानगरपालिका–१६ का करण योगी र दिया रामदाम, भरतपुर–२० का अनुप सुनार र सुस्मिता श्रीष, अनिल हरिजन र लक्ष्मी लामिछाने, अशोक परियार र सुमिता रानामगर, भरतपुर–११ का मनोज विश्वकर्मा र जसिका श्रेष्ठ, भरतपुर–६ का सुमन परियार र सिमा लामा परियार रहेका छन् ।

त्यस्तै रुपेश भुजेल र अस्मिता विक, भरतपुर–२७ का अशोक परियार र आरती महतो, भरतपुर–२४ का किसान परियार र इन्दिरा तामाङ, भरतपुर–१६ का सरोज सुनार र सोममाया घले सुनारलाई महानगरले सम्मान गरेको छ ।

महानगरबाट सम्मानित हुनेहरुमा भरतपुर–१० का विष्णु पौडेल र रोशनी परियार, भरतपुर–२३ का दिपेश सदाशंकर र अन्सु श्रेष्ठ, भरतपुर–१९ का किरण विक र सुनन्दा श्रेष्ठ, भरतपुर–२८ का अविशेक दर्जी र राधा शर्मा र भरतपुर–१२ का मनिष थापा र कुसुम विश्वकर्मा रहेका छन् ।

महानगरले यसअघि आव २०७७/७८ मा तीन जोडी, आव २०७८/७९ मा तीन जोडी, आव २०७९/८० मा सात जोडी र आव २०८०/८१ मा १० जोडीलाई सम्मान गरेको थियो ।