नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा ‘राष्ट्रिय भाव’का गीत सार्वजनिक

दियोपोस्ट संवाददाता

काठमाडौँ । ‘नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान’ले गत वर्षको गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘राष्ट्रिय गीत लेखन’ प्रतियोगितामा उत्कृष्ट भएका ७ वटा राष्ट्रिय भावका गीत तथा तिनका भिडियो सार्वजनिक गरेको छ । प्रतिष्ठानको सभाहलमा आज आयोजित एक कार्यक्रमका बीच गीत तथा भिडियो सार्वजनिक गरिएको हो ।

गणतन्त्र दिवस-२०८१ को अवसरमा आयोजना गरिएको ‘राष्ट्रिय गीत’ लेखन प्रतियोगितामा छनौट भएका उत्कृष्ट ७ वटा गीत रेकर्ड गरिएको र दुई वटा गीतको छायाङ्कन समेत गरि आज सार्वजनिक गरिएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कुस्मा महराले जानकारी दिइन् ।

सदस्य सचिव महराले ‘तीते तीते जाइजा…’ बोलको गीत र लहविरे भाकामा आधारित गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको बताईन् । बाँकी गीतको पनि भिडियो निर्माण गरिने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेलले राष्ट्रिय भावना र जनचेतना अभिवृद्धिका लागि म्युजिक भिडियो र गीतहरुको रेकर्ड गरिएको बताइन् । आउँदा वर्षहरुमा पनि नेपाली गीत संगीतलाई प्रवर्धन गर्ने खालका कार्यक्रमहरु आयोजना गरिने कुलपति शर्माको भनाई छ ।

राष्ट्रिय भावका गीतले राष्ट्र प्रेमलाई उजागर गर्ने भन्दै उनले भनिन्, ‘गीत–संगीतको संरक्षणमा सामुहिकतामा काम गर्नु पर्छ । यसका लागि हामी सबै मिलेर अगाडी बढ्नु पर्छ ।’

कार्यक्रमका संयोजक तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उप-कुलपति शम्भू राईले नेपाली संगीत नेपालीहरुको साझा सम्पत्ति भएको भन्दै त्यसको जगेर्ना गर्न सबै जना एकजुट हुनु पर्ने आवश्यकता औँल्याए ।

विदेशी संस्कृतिको हस्तक्षेप बढिरहेको भन्दै उप-कुलपति राईले मौलिक नेपाली संस्कृतिको जगेर्ना र अभिवृद्धिका लागि मिलेर अगाडी बढ्नु पर्ने धारणा ब्यक्त गरे । उनले सार्वजनिक गरिएका म्युजिक भिडियो र अडियो गीतहरु प्रज्ञा–प्रतिष्ठानको अफिसियल युट्युव च्यानलमा अप्लोड गरिएकोले सबै जनालाई हेरेर प्रतिक्रिया दिन समेत अनुरोध गरे ।

कार्यक्रममा सार्वजनिक भएका भिडियोका निर्देशक र गीतका गीतकार, सङ्गीतकार र गायकगायिकालाई प्रमाणपत्रले सम्मान गरिएको थियो ।

सार्वजनिक भएका भिडियोमध्ये शिक्षासम्बन्धी चेतना फैलाउने ‘तीते तीते जाइजा…’ बोलको गीतका रचनाकार प्रकाश सापकोटा, सङ्गीतकार महेश खड्का र गायिका शान्तिश्री परियार तथा त्यसको म्युजिक भिडियो निर्देशन गर्ने अभि लामा लामालाई, कलाकारहरु बिना रावत र अलि तामाङलाई सम्मान गरिएको थियो ।

त्यस्तै पूर्वी पहाड ओखलढुङ्गा जिल्लाका बायुङ, थुलुङ र वाम्बुले समुदायले गाउँदै आएको लोपोन्मुख ‘लहबिरे’ गीतका सङ्गीतकार लाहाङ सुब्बा, गायक कुमार प्रयास, परेश राई र तेजकुमार राई तथा गायिका इन्द्रकला राई, मनमाबी राई र रश्मी राईलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुलाई कार्यक्रममा अध्यक्ष तथा प्रतिष्ठानका कुलपति निशा शर्माले प्रमाण पत्र र खादाद्वारा सम्मान गरेकी थिइन् ।

त्यस्तै कोशी प्रदेशबाट छनोटमा परेको गीतका लागि गीतकार तेजकुमार राई, संगीतकार महेश खड्का, गायक गायिकाहरु सन्दीप पनेरु र प्रिया पोखरेल पनेरुलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

राष्ट्रिय गीत लेखन प्रतियोगिता–२०८१ मा मधेस प्रदेशबाट छनोट परेको गीतका लागि गीतकार लिलाराज दाहाल, संगीतकार बसन्त सापकोटा, गायक गायिकाहरु प्रल्हाद तिमल्सिना र मनिसा सुनारलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वागमती प्रदेशबाट गीतकार सृजना अर्याल, संगीतकार शान्तिराम राई र गायक रोशन राई सम्मानित भए ।
त्यस्तै लुम्बिनी प्रदेशबाट गीतकार बसन्तकुमार आचार्य र संगीत तथा गायनका आशीष अविरललाई सम्मान गरिएको थियो ।
कर्णाली प्रदेशबाट गीतकार क्षितिज समर्पण, संगीतकार महेश खड्का, गायक गायीकाहरु मिलन खपाङ्गी र मिना चौधरीलाई सम्मान गरिएको थियो भने सुदूर पश्चिमबाट संगीतकार धिरन नाथ, संगीतकार शान्तिराम राई, गायक रोशन राई सम्मानित भएका थिए ।

त्यस्तै गण्डकी प्रदेशबाट गीतकार बाबुराम श्रेष्ठ, संगीतकार श्रीकृष्ण बम मल्ल, गायीका लक्ष्मी मल्ल, सारिका घिमिेरे, उषा गजुरेल तथा गायक योगेश काजी शाहलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका ४ जना कर्मचारीलाई पनि सम्मान गरिएको थियो । । सम्मानित हुनेमा अधिकृत स्तरका कर्मचारी प्रदीप गुरागाईं, प्रविन सापकोटा, ध्रुव वाग्ले र नायब सुब्बा जगदीश सापकोटा रहेका छन् ।