काठमाडौं । कन्चनपुरको कृष्णपुर नगरपालिकाले नगरभित्र रहेका छाउ गोठ भत्काउन निर्देशन दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले निर्देशनपत्र जारी गर्दै छाउ गोठ भए–नभएको निरीक्षण गरि १५ दिनभित्र भत्काइसक्न सबै वडा कार्यालयलाई निर्देशन दिएका हुन्।
शनिबार बेलुका कृष्णपुर–१ स्थित छाउगोठमा सुत्न गएकी २८ वर्षीय कमला दमाईको सर्पको टोकाइबाट निधन भएपछि नगरपालिकाले छाउगोठ भत्काउन भनेको हो । कृष्णपुर नगरपालिकाअन्तर्गत केही वडाहरूमा अझै पनि छाउपडी प्रथा कायम रही गोठसमेत यथावत भएकोले आ–आफ्नो वडाभित्र रहेका छाउपडी गोठहरू निरीक्षण गरी १५ दिनभित्र छाउपडी गोठहरू भत्काउन नगरपालिकाले निर्देशन दिएको छ ।
नगरपालिकाको निर्देशन कार्यकान्वयनमा नल्याए कानुनी कारबाहीसहित १० हजार जरिवाना हुने व्यहोरासमेत आदेशानुसार अनुरोध छ’ नगरपालिकाको पत्रमा उल्लेख छ । २८ वर्षीया दमाईको महिनावारीको समयमा छाउपडी गोठमा सुतिरहेको अवस्थामा सर्पले डस्दा मृत्यु भएको थियो ।
