काठमाडौँ । यही २६ जुलाई २०२५ तारिखमा हुन गइरहेको एनआरएनए अष्ट्रेलिया निर्वाचन हुँदैछ । त्यसका लागि नेपालस्थित लमजुङ घर भई अष्ट्रेलियामा रहँदै आएका अनिल बिकेले ‘नर्दन टेरिटोरी’ सदस्य पदका लागि उम्मेद्वारी दिएका छन् । आफ्नो उम्मद्वारीसंगै बिकेले ५ वटा एजेण्डा सार्वजनिक गरेका छन् ।
उनले उक्त निर्वाचनका लागि आफ्नो उम्मेद्वारी घोषणाका क्रममा ति एजेण्डा सार्वजनिक गरेका हुन् । उनले भनेका छन्, ‘सबैको सक्रिय सहभागिता नै हाम्रो प्रवासी नेपाली समुदायलाई अझ सबल र एकीकृत बनाउने जग हो । आज म तपाईंहरूकै माझ एक समुदायका सदस्यको हैसियतले मात्र होइन, नर्दन टेरिटोरीको प्रतिनिधित्व गर्दै एनआरएनए नेशनल कोअर्डिनेसन काउन्सिल (एनसीसी) अष्ट्रेलियाको उम्मेदवारको रूपमा तपाईंहरूको विश्वास र समर्थनको अपेक्षा गर्दै उपस्थित भएको छु ।’
उनले आफ्नो उम्मेदवारी दृढ विश्वासमा आधारित रहेको बताएका छन् । आफ्नो उम्मेद्वारी घोषणासंगै उनी भन्छन्, -‘हाम्रो परिवार, मित्रता, पेशा, शिक्षा, मानसिक तथा शारीरिक स्वास्थ्य, र समुदायसेवा-यी सबै कुरा जीवनका अलग–अलग पाटो होइनन्, बरु ती सबै मिलेर अर्थपूर्ण जीवनको गहिरो बुनोट हुन् । म यिनै मूल्यहरूमाथि टिकेर काम गर्नेछु ।’
उनले आफु सधै स्पस्ट भएको बताउँदै अस्वस्थ र दूषित राजनीतिबाट टाढा रहने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् । परिवर्तनको आशा लिएर अष्ट्रेलिया जाने नेपालीबीच बन्धुत्व, एक–अर्कामा भाइचारा, नेपालको मूल पहिचान, र अष्ट्रेलियाको समावेशी मूल्यहरूलाई अँगाल्ने पक्षमा आफु सधै दृढ रहेको उनको भनाई छ ।
उनले सन् २०२३ देखि २०२५ सम्म एनआरएनए एससीसी नर्दन टेरिटोरीको कोषाध्यक्षको रूपमा कार्यरत हुँदा पूर्ण इमानदारी र अनुशासनका साथ आफ्नो जिम्मेवारी पूरा गरेको बताए । ‘मैले वित्तीय अनियमितता उन्मूलन गरी समुदायको आर्थिक स्रोतलाई जिम्मेवार ढंगले प्रयोग भएको सुनिश्चित गरेँ,’ उनले भने, लोकप्रियता गुमाउनु परे पनि मैले पारदर्शिता र सत्यतामा समझौता गरिन । किनभने मेरो बुझाइमा नेतृत्व भन्नुको अर्थ सबैलाई खुसी बनाउने होइन, सही निर्णय गर्न सक्ने साहस राख्नु हो ।’
आफ्नो लागि इमानदारी कुनै नारा नभएर त्यो आफ्नो पहिचान भएको उनले दाबी गरेका छन् । यसै मूल्यलाई आत्मसात् गर्दै चुनावमा भाग लिएको उनको जीत हासिल गरेर अर्को चरणमा प्रवेश गर्ने उनको चाहना छ ।
उनी भन्छन्, ‘म एक उत्तरदायी, पारदर्शी, र राजनीति मुक्त एनआरएनए अष्ट्रेलियाको दृष्टिकोणलाई सार्थक बनाउन आफ्नो सीप र अनुभव समर्पित गर्न चाहन्छु । म यस्तो संस्थाको निर्माणमा योगदान दिन चाहन्छु जसले सम्पूर्ण ऊर्जा र स्रोत समुदायको सशक्तीकरणमा केन्द्रित गर्छ, विभाजनमा होइन ।’
यही सोचका साथ नर्दन टेरिटोरीबाट एनआरएनए एनसीसी अष्ट्रेलियाको सदस्य पदको लागि मेरो उम्मेदवारी घोषणा गरेको उनले बताए ।
यि हुन्, उनले अघि सारेका पाँच प्रमुख एजेण्डाहरु :
१. वित्तीय पारदर्शिता र उत्तरदायित्व :
प्रत्येक डलर कहाँ गयो र समुदायकै हितमा कसरी प्रयोग भयो भन्ने सुनिश्चित गर्न कडा वित्तीय नियमावली लागू गर्नेछु र नियमित रूपमा सार्वजनिक प्रतिवेदन प्रस्तुत गरिने व्यवस्था बनाउनेछु ।
२. युवा र विद्यार्थी सहभागिता :
नेपाली युवा तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि मार्गदर्शन, व्यवसायिक सञ्जाल, तालिम तथा मानसिक स्वास्थ्य सहायता जस्ता विषयमा प्लेटफर्महरू सिर्जना गरिनेछ।
३. सामुदायिक स्वास्थ्य तथा जीवनशैली प्रवद्र्धनः :
प्रवासी जीवनका विशिष्ट चुनौतीहरूलाई ध्यानमा राख्दै कार्यशाला, खेलकुद, वेलनेस कार्यक्रम र मानसिक स्वास्थ्यसम्बन्धी स्रोतहरूको आयोजना गरिनेछ।
४. राजनीति रहित सांस्कृतिक पहिचानको उत्सव :
राजनीतिक विभाजनबाट मुक्त, समावेशी र सबै नेपालीलाई एकै छातामुनि ल्याउने सांस्कृतिक कार्यक्रमहरू मार्फत हाम्रो पहिचानको गौरव बिस्तार गरिनेछ।
५. नर्दन टेरिटोरीको राष्ट्रिय स्तरमा उचित प्रतिनिधित्व :
एनआरएनएको राष्ट्रिय मञ्चमा नर्दन टेरिटोरीका आवाज, आवश्यकता र चुनौतीहरू स्पष्ट रूपमा प्रस्तुत गरिनेछ ।
त्रिलोचन सापकोटाको नेतृत्वको आफ्नो टिमलाई अमुल्य मत दिई जिताउनका लागि नर्दन टेरिटोरीका सम्पूर्ण सदस्यलाई अनुरोध गरेका छन् ।
