
काठमाडौँ । पतञ्जली जग्गा काण्डमा मुछिएका तत्कालिन भूमिसुधार सचिव छविराज पन्तसँग विशेष अदालतले ५ लाख धरौटी माग गरेको छ । पतञ्जली जग्गामा भ्रष्टाचार गरेको मुद्दामा उनीसंग धरौटी माग गरिएको हो ।
मंगलबार विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीसँग पाँच लाख धरौटी माग गरेको थियो ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते ९३ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।
पन्त नेपाल सरकारका तत्कालीन भूमिसुधार मन्त्रालयका सचिव थिए । उनले ललितानिवास जग्गा प्रकरणमा भ्रष्टाचार मुदाको सामना गर्नु परेको थियो ।
ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले उनलाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय, ८० लाख ४८ हजार रुपैयाँ जरिवाना तथा राष्ट्रिय बिगो रकम आकार्ने फैसला गरेको थियो ।
पन्त २०६६ साल असार २८ देखि २०६७ साल माघ २८ सम्म भूमिसुधार मन्त्रालयको सचिव पदमा कार्यरत रहँदा पतञ्जली जग्गा बिक्री गर्न अनुमति दिने निर्णय गरेपछि भ्रष्टाचार भएको आशंकामा अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो।
भूमिसम्बन्धी ऐन, २०२१ मा कुनै उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले हदबन्दीमा छुट हुने गरी जग्गा राख्ने सुविधाको व्यवस्था छ।