मौसमलाई सिंगार्न उदाएको इन्द्रेणीबाट
कतै एक चिम्टी रङ्ग उडेर छोइदिन सक्छ !
घोटिरहेको संघर्षको कराइबाट
एक थोपो कालो छ्यापिन सक्छ !
सम्झनाको लालीगुराँस नाच्दै–नाच्दै एक फन्को
मेरै मनमा फन्कियो भने !
उदाइरहेका रहरका चम्किला ताराहरूले
एउटा मात्रै किरण यतै छोडिदिए भने
आशाका नजरहरू पोखिएर
पीडाका पसिनाहरू लत्पतिएर
आवश्यकताका आँशुहरू जन्मिएर
संवेगका यामहरू उदाएर
उल्झनका धारिला खुकुरी आपसमा ठोकिँदै–ठोकिँदै
एक झिल्को
यही मनको बाटो भएर जान सक्छ
कसैले दयाको गुलाफले हान्यो भने !
घृणाको वास्नाले छ्याप्यो भने !
अहम्को सप्कोले छोयो भने !
तृष्णाको नजरले चिहायो भने
अपचको गन्ध मौलाए जस्तै !
आडम्बरको परिधि फैलिए जस्तै !
मनको क्षेत्रले सीमा विस्तार गर्दै जाँदा !
धैर्यको आकाश खसेर
निलैनिलो भई रङ्गिन सक्छ
समयका पातहरू
अलिकती बाँकी रहेको हरित कणसहित
मेरै मनको बाटो गरि झर्न सक्छन्,
सँस्कारका सुनाखरीहरूलाई टिपेर कसैले
मेरै मनको बगैँचामा मिल्काउन सक्छ
सम्भावनाका जराहरू फैलिन सक्छन्
र फूलाउन सक्छन् लाली रङ्ग
सेतो मनभित्रको रातो मुटुलाई
सपनाको कर्धले
एक, दुई, तीन, चार
कप्टेरा बनाईदिन सक्छ
अनि बग्न सक्छ अविरल रक्तनदी
अनि बन्न सक्छ
रा……तो
मेरो सेतो मन !!!