प्रधानमन्त्रीकै ग्राण्ड डिजाइनमा पूर्वएमाले व्युँतियो ? ओलीलाई बा भन्ने रेश्लर उपाध्यक्ष !

दियो पोस्ट  

काठमाडौँ, असार १७ । निर्वाचन आयोगमा नेकपा एमाले दर्ताको लागि निवेदन परेपछि सत्तारुढ दल नेकपामा हलचल मच्चिएको छ ।


मंगलबार स्थायी समिति बैठकमा समेत यसै बिषयलाई लिएर दुई अध्यक्षबिच चर्काचर्की समेत भएको थियो । निर्वाचन आयोगमा परेको निवेदन अनुसार सन्ध्या तिवारी एमाले पार्टीका अध्यक्ष रहेकी छिन् ।

उनी बिराटनगरका हुन् । केपी ओली पक्षधर नेता कार्यकर्ताले सन्ध्यालाई पूर्व माओवादी कार्यकर्ताको बिल्ला भिराएका छन् ।


त्यति मात्रै होइन प्रचण्डके ग्राण्ड डिजाइनमा पूर्व एमाले दर्ता गराएर ‘पार्टीको नाम होल्ड’ गरेको आरोप ओली पक्षका नेता कार्यकर्ता लगाउँछन् । तर, नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बामदेव गौतमले भने ओलीकै योजनामा पार्टी दर्ता भएको बैठकमै बताएका छन् ।

उपाध्यक्ष गौतमले त पार्टी दर्ताका लागि ओलीले निर्देशन दिएको प्रमाण नै आफुसँग सुरक्षित रहेको बताएका थिए ।

उपाध्यक्ष गौतमको भनाईलाई दर्ता भएको नेकपा एमालेकी उपाध्यक्षको अभिव्यक्तिले पुष्टि नै गरिदिएको छ ।


गत असार १२ गते निर्वाचन आयोगमा दर्ता भएको नेकपा एमालेकी उपाध्यक्ष हुन् भगवती खड्का । रामेछाप घर भएकी खड्का पेशाले रेश्लिङ खेलाडी हुन् । उनले सामाजिक सञ्जालमा ओली पक्षमा लेखेको स्ट्याटस हेर्ने हो भने दल दर्ता प्रधानमन्त्रीकै ग्राण्ड डिजाइनमा भएको भन्ने वामदेव गौतमको आरोपलाई पुष्टि गर्छ ।

‘कुर्सीका लागि होइन देशको लागि ओली चाहिन्छ । सत्ताको लागि होइन देश बचाउन ओली चाहिन्छ । पदको लागि होइन देश विकासको लागि ओली चाहिन्छ,’ ओलीको गुणगान गाउँदै भगवतीले २८ जुनमा लेखेको स्ट्याटसमा भनिएको छ,‘भारतीय विस्तारवादलाई तह लगाउन ओली चाहिन्छ । देशको सान मान र इज्जत हाम्रो ‘बा’ केपी ओली जिन्दावाद ।’


प्रधानमन्त्री ओलीलाई उनले ‘बा’ भनेर सम्बोधन गरेकी छिन् । यसले उनको प्रधानमन्त्रीसँगको निकटतालाई दर्शाउँछ ।

उक्त पार्टीमा अर्की रेश्लर अस्मिता सुनार ‘जुरेली’ समेत समलग्न छिन् । उनी समेत पूर्व एमाले निकट युवा संघकै कार्यकर्ता रहेको बताइन्छ । महेश बस्नेत निकट रहेकी जुरेली समेत उक्त पार्टीमा हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।