
काठमाडौँ, असार २४ । चीनको हुबेइबाट फैलिएको कोरोनाभाइरस विश्वका १ करोड १९ लाख ४९ हजार २ सय ८१ जना संक्रमित भएका छन् । वर्ल्डमिटरले सार्वजनिक गरेको विवरणअनुसार मंगलबार रातिसम्म विश्वभर २ लाख ७ हजार ७ सय ५२ जना नयाँ संक्रमित थपिएको हो । बुधबार बिहानसम्म ७ हजार ४ सय ९७ नयाँ संक्रमित थपिएका छन् ।
विवरणअनुसार मंगलबार रातिसम्म विश्वभर ५ हजार ५ सय १२ जनाले कोभिड–१९ को संक्रमणका कारण ज्यान गुमाएका छन् भने बुधबार बिहान मात्रै थप ९ सय ४९ जनाको मृत्यु भइसकेको छ । तथ्यांकअनुसार विश्वका ६८ लाख ९५ हजार २ सय ३८ जना उपचारपछि निको भई डिस्चार्ज भएका छन् ।
सबैभन्दा तीब्र गतिमा कोरोना फैलिएको मुलुक संयुक्त राज्य अमेरिका हो । अमेरिकामा कोरोना संक्रमितको संख्या ३० लाख ९७ हजार ८४ जना पुगेको छ । मंगलबार रातिसम्म थप ५५ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पाइएको थियो । तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा अमेरिकाका ९ सय ९३ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । योसंगै अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ३३ हजार ९ सय ७२ पुगेको छ । त्यस्तै १३ लाख ५४ हजार ८ सय ८३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
त्यस्तै ब्राजिलमा कोरोना संक्रमितको संख्या १६ लाख ७४ हजार ६ सय ५५ र भारतमा ७ लाख ४३ हजार ४ सय ८१ पुगेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना पुन महामारीको रुपमा फैलन सक्ने चेतावनी दिईसकेको छ ।