शक्रबारदेखि सार्वजनिक यातयात खुल्ने : मास्क, सेनिटाइजर र पञ्जा अनिवार्य !

दियो पोस्ट  

काठमाडौं, २५ असार । सरकारले सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय गरेको छ। सार्वजनिक सवारी साधनले ५० प्रतिशत भाडा बढी लिन पाउने भएका छन् ।


सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले दिएका जानकारी अनुसार असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाभित्र तीनवटा जिल्लालाई एउटा जिल्ला मानेर सवारीसाधन चल्न दिने निर्णय भएको बताएका छन्।

‘काठमाडौं उपत्यका भित्र काठमाडौं, ललितपुर र भक्तपुरलाई एउटा जिल्ला मानेर सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय भएको छ,’ उनले भने, ‘उपत्यका बाहिर एउटा जिल्ला भित्र सवारी साधन चल्न दिइने निर्णय भएको छ।’

लामो दूरीको सवारी साधन भने चल्न नपाउने खतिवडाले बताए । यात्रु बसको सिट क्षमताको आधारमा ५० प्रतिशत भाडा लिन पाउने उनले बताए । त्यसक्रममा बसको एक पंक्तिको एउटा सिटमा एकजना मात्रै यात्रु राख्नुपर्नेछ। ट्याक्सीमा २ जना मात्रै राखेर चल्न पाउने छन् ।

सार्वजनिक यातयातले आफ्नो सिट क्षमताको आधा मात्रै यात्रु बोक्न पाउने छन् । त्यस्तै सार्वजनिक यातयातमा हरेक यात्रुले मास्क लगाउनुपर्ने छ । चालक सहचालकले यात्रुलाई भित्र प्रवेश गराउनु अघि नै सेनिटाइजर, पञ्जा र भाइजर अनिवार्य गरिएको छ ।