परराष्ट्र मन्त्रालयको स्पष्टोक्तिः ‘अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति कसैलाई चोट पुर्याउनका निम्ति होईन’

दियो पोस्ट  

काठमाडौँ, असार ३० । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्तिको बचाउ गरेको छ । प्रधानमन्त्री ओलीको भनाईलाई लिएर देशभित्र र बाहिर चौतर्फी आलोचना भएपछि मन्त्रालयले मंगलबार एक विज्ञप्ती जारि गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति कसैलाई चोट पुर्याउनको लागि नभएको स्पष्ट पारेको हो ।

मन्त्रालयले जारि गरेको विज्ञप्तीमा प्रधानमन्त्रीको भनाई कुनै राजनीतिक भनाई नरहेको समेत जिकिर गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावनामा चोट पुर्‍याउने आशय थिएन ।’

‘राम र उनीसँग सम्बन्धित विभिन्न मिथक छन्। प्रधानमन्त्रीले राम, रामायण र उक्त सभ्यतासँग जोडिएका थप तथ्यहरू फेला पार्न विभिन्न साँस्कृतिक ठाउँको थप अध्ययन र अनुसन्धान गर्नुपर्ने कुरालाई जोड दिनुभएको हो,’ विज्ञप्तिमा भनिएको छ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको उक्त भनाइ अयोध्याको महत्व र यसले बोक्ने सांस्कृतिक मान्यतालाई कमजोर बनाउनु नभएको पनि जिकिर गरेको छ।

परराष्ट्र हरेक वर्ष विवाह पञ्चमीको दिन अयोध्याबाट जनकपुरमा जन्ती आउने कुराको उल्लेख गर्दै दुई वर्षअघि दुबै देशका प्रधानमन्त्रीहरूले जनकपुर(अयोध्या बस सेवाको उद्घाटन गरेको कुरा पनि स्मरण गरेको छ।

सोमबार भानु जयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले अयोध्या नेपालमै पर्ने तर भारतले आफ्नो भनेर नेपालमाथि सांस्कृतिक हस्तक्षेप गरेको बताएपछि चौतर्फी आलोचना भएको थियो । ओलीको भनाईलाई लिएर भारतीय संचारमाध्यमहरुले समेत चर्को आलोचना गरेको थियो ।